काठमाण्डू, ३१ जेठ– पूर्व मन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्याएको बताएका छन ।
आज (आइतबार) विराटनगरमा कांग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता बस्नेतले यस्तो बताएका हुन । पार्टीभित्रको आन्तरिक विवाद र क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर आक्रोशित बनेका बस्नेतले नेतृत्वले जानाजानी पुराना र स्थापित नेताहरूलाई पाखा लगाउन खोजेको समेत बताएका छन ।
बीपी पुत्रहरू शशांक कोइरालादेखि प्रकाशमान सिंह र विमलेन्द्रनिधि जस्ता प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरणमा अवरोध सिर्जना गरिएको समेत उनले बताएका छन । नेता बस्नेतले भने ‘बीपी पुत्रदेखि ६०–६५ वर्ष पार्टीमा लगानी गरेका सिनियर नेताहरूको सदस्यता रद्द हुने, तर नयाँका नाममा २४ सै घण्टा बिना कुनै डाटा मान्छे भर्ने काम भइरहेको छ,’ बस्नेतले भने, ‘यो कांग्रेस सिध्याउने षड्यन्त्र हो ।’
उनले अगाडि भने, ‘कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न नाटकबाट भयो । त्यसको मुख्य पात्र वा खलनायक भन्नुस्, हाम्रा अहिलेका सभापति गगन थापाजी हुन् । अब उहाँबाट पार्टी मिल्छ भनेर के आश गर्ने ?’