धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ बासपानीमा स्थानीय महिलाको टेम्पो भीरबाट खसालिएको घटनामा प्रहरीले ११ जना वन कर्मचारीलाई पक्राउ गरेको छ ।
घटनाको अनुसन्धानका लागि चार जनालाई इलाका प्रहरी कार्यालय मालाखेती र सात जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूको परिचय खुलाउने र घटनामा संलग्नताको विवरण संकलन गर्ने काम भइरहेको छ ।
शुक्रबार डिभिजन वन कार्यालयका कर्मचारीहरूले स्थानीय धनादेवी धामीले सडक किनारमा राखेको टेम्पो हटाउने क्रममा भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो ।
घटनाबारे वन कार्यालय र धामी परिवारबीच फरक–फरक दाबी छन्। वन कार्यालयले अतिक्रमण हटाउने क्रममा सञ्चालनमा नरहेको टेम्पो भिरालो भूगोलका कारण असन्तुलित भएर खसेको जनाएको छ ।
तर धामी परिवारले टेम्पो चालु अवस्थामा रहेको र कर्मचारीहरूले नियतवश धकेलेर भीरमा खसालेको आरोप लगाएको छ ।
कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले घटनाका सम्बन्धमा दुवै पक्षका दाबीको अनुसन्धान भइरहेको बताए ।