सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छः दुर्गा प्रसाईं

काठमाण्डु टुडे २०८३ जेठ ३१ गते १६:४२ मा प्रकाशित

काठमाण्डू, ३१ जेठ– नयाँ पार्टी गठन गर्न लागेका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकमा वर्तमान गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुने चेतावनी दिएका छन ।

आज (आइतबार) काठमाण्डूमा आयोजित ‘प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रम’ मा बोल्दै उनले यस्तो बताएका हुन । जानीजानी सहकारी ठग्नेहरूको पैसा जनताको करबाट तिर्ने काम सुरु गर्ने बित्तिकै वर्तमान सरकारको दशा सुरु हुने र यो व्यवस्था नै नरहने प्रसाईंले बताए ।

संयोजक प्रसाईंले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै आफूले यसअघि एमाले लाई जस्तै नाङ्गेझार पार्ने चेतावनी समेत दिएका छन । पैसा दिएर राखिएका २–४ जना कन्टेन्ट क्रिएटरहरूले सामाजिक सञ्जालमा मुख छाड्ने काम गरिरहेको आरोप लगाउँदै उनले ती सबैका घरहरू मान्छेले वाच गरिरहेको बताए। मुलुकमा अब अर्को आन्दोलन हुने र त्यस आन्दोलनले पिँध नभएको गमला जस्तो वर्तमान शासन व्यवस्थालाई बढार्ने उनले दाबी गरे ।

सरकारले निजी अस्पतालहरूलाई स्वास्थ्य बीमा बापतको २२ अर्ब रुपैयाँ नदिएको, दुग्ध किसानको १० अर्ब भुक्तानी दिन बाँकी राखेको र किसानलाई मल समेत उपलब्ध गराउन नसकेको भन्दै उनले सरकार जनताका समस्यामा गम्भीर नभएको आरोप समेत लगाएका छन । त्यसैगरी, प्रसाईंले नेपालमा राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनःस्थापना नभएसम्म देश र जनताले सुख र शान्ति नपाउने दाबी गरे ।

नेपालको भूगोल र यसको गर्भमा रहेको किराँत, बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था ब्युँताउने एउटै उद्देश्यका साथ आफू र नेता धवल शमशेर राणानिच लक्ष्यसहितको सहकार्य भएको समेत बताएका छन ।

राजालाई पुनः गद्दीमा राख्नका लागि नै आफूहरूले मिलेर नयाँ पार्टी खोल्ने निर्णय लिएकाले बीचमा फाटो आउने कुनै अवस्था नरहेको उनको भनाई छ। प्रसाईंले भने, ‘जुन दिन राजा गद्दीमा बस्छन्, राजसंस्था फर्किन्छ, त्यो दिन दाजु र भाई पहिलो लुगा लगाएर खप्तड जाउँला।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us