काठमाण्डू, ३१ जेठ– नयाँ पार्टी गठन गर्न लागेका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन ।
आज (आइतबार) काठमाण्डूमा नयाँ पार्टी गठनको गृहकार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले यस्तो बताएका हुन । ‘राप्रपा पार्टी भनेको राजा र धर्म साट्ने, भोट लिने सांसद बन्ने, भत्ता सत्ता खाने गाडी चढ्ने मात्र हो’, प्रसाईंले भने, ‘विकास र जनतासँग के मतलब, तर हामीलाई त्यसो गर्नु छैन ।’
उनले सत्य बोल्नेलाई अराजक भन्ने गरिएको भन्दै आफू सत्य बोल्न नडराउने समेत बताएका छन । ढाँट्न नआउने व्यक्तिका रूपमा आफूलाई परिचित गराउँदै प्रसाईंले अगाडि भने, ‘‘बरु जुन दिन राजसंस्था फर्किन्छ, त्यो दिन पहेँलो लुगा लगाए खप्तड गएर बसौँला’।
वर्तमान बालेन शाह नेतृत्वको सरकार र रास्वपा पनि धेरै नटिक्ने भन्दै प्रसाईंले कांग्रेस, एमाले, माओवादी र राप्रपा अब उठ्न नसक्ने समेत बताएका छन । उनले राजेन्द्र लिङ्देन आइआरआईको सदस्य भएको आरोप लगाउँदै देशका धेरै नेताहरू गद्दार रहेको टिप्पणी समेत गरेका छन ।