
-सम्बाेधन
अन्तर व्यवस्थापिका मञ्चको आयोजनामा कैलालीको टीकापुरमा सुरु भएको ‘अन्तर व्यवस्थापिका सम्मेलन’काे उद्घाटन समाराेहमा शनिबार सम्बाेधन गर्नुहुँदै प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल । तस्बिर: झलनाथ खनाल / रासस
कैलाली- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् ।
अन्तर व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा शनिबार आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा उनले संघीयता कार्यान्वयनमा संघीय संसद् र प्रदेशसभाबिच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए ।
तीन तहका सरकारबिचको समन्वय र सहकार्यमा नबाझिने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिँदै सभामुखले भने, ‘तीनवटै तहका सरकारले बनाउने कानुन नबाझिने गरी काम गर्न म प्रतिबद्ध छु । सबैसँग समन्वय, सहकार्य गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु । आपसी समन्वय र सहकार्यले मात्र जनताका अपेक्षालाई बुझेर काम गर्ने वातावरण बन्नेछ ।’
कानुन निर्माण हुँदा लक्षित वर्गलाई केन्द्रमा राख्नुपर्नेमा सभामुख अर्यालले जोड दिए । कानुनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानुन निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै उनले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानुन निर्माण गरिनुपर्ने धारणा राखे।
सभामुख अर्यालले संघीयताले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने भनिए भए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताए ।
अझै हामीले जनतालाई दिनुपर्ने अधिकार गाउँगाउँसम्म पुर्याउन सकेका छैनौँ’, उनले भने ।