काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदलाई अभिमूखीकरण तालिम दिएको छ ।
सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संघीय संसदका दुवै सदनका सांसदका लागि तालिम प्रदान गरिएको नेकपा नेता एवं सांसद् वर्षमान पुन अनन्तले जानकारी दिए ।
एक दिवसीय कार्यशाला नाम दिइएको उक्त प्रशिक्षण कार्यक्रम काठमाण्डौंको स्वयम्भुस्थित एक होटलमा आयोजना गरिएको थियो ।
कार्यशालामा नेकपा नेता डा. बेदुराम भुसाल, वरिष्ठ अधिवक्ता रामनारायण बिडारी, संविधानविद् एवं संविधानसभा सदस्य खिमलाल देवकोटा र राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयालले सहभागीहरुलाई प्रशिक्षण दिए ।
पूर्वसचिव कार्यशालामा फुयालले संसदीय अभ्यास, संसदीय कार्यप्रक्रिया र संसद् नियमावली, देवकोटाले संविधान र संसद्, भुसालले विधेयकको उत्पत्ति, निर्माण, विधेयक पेश गर्ने प्रक्रिया तथा संशोधनदेखि विधेयक पारित भएर कानून बन्दासम्मको प्रक्रिया र बिडारीले प्रत्यायोजित विधायनका विषयमा प्रस्तुति दिएका थिए ।
सांसदहरुको क्षमतावृद्धि तथा संसदमा प्रभावकारी भूमिका बढाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको जानकारी दिए । संघीय संसदमा नेकपाका ३४ सांसद् छन् ।