रास्वपाले गठन गर्याे ७७ वटै जिल्लामा निर्वाचन समिति

काठमाण्डु टुडे २०८३ जेठ २२ गते १७:०३ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ ।

शनिबार र आइतबार ७७ वटै जिल्लामा हुने अधिवेशनका लागि तीन सदस्यीय समिति गठन भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन ।

उनले भने, ‘अधिवेशनका लागि ७७ वटै जिल्लामा तीन सदस्यीय निर्वाचन समिति बनेको छ । उहाँले सबै जिल्लामा अधिवेशन सम्पन्न गराएर आउनुहुन्छ ।

महाधिवेशन कार्यतालिका अनुसार नै काम भइराखेका छन् ।’ बागमती र मधेसका केही पालिकामा उजुरी परेकाले अधिवेशन स्थगित भएको तथा कतिपय स्थानमा फेरि निर्वाचन गर्न निर्देशन दिएको पनि उनले बताएका छन । रास्वपाको मौजुदा विधान अनुसार एक सभापति, एक उपसभापति, एक सचिव, एक सहसचिव, समावेशी सदस्य पाँच, प्रत्येक निर्वाचन क्षेत्रबाट एकरएक जना जिल्ला अधिवेशनबाट निर्वाचित हुनेछन् । सभापतिले निर्वाचित समितिबाट एक जना कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ ।

कुल जिल्ला समिति बिजोर हुने गरी सभापतिले दुई वा तीन जना मनोनीत गरेर जिल्ला समिति गठन गर्न सक्नेछ । यसअघि जेठ २६ गतेबाट हुने प्रदेश अधिवेशनका लागि आयोगले कर्णाली र सुदूरपश्चिम बाहेक सबै प्रदेशमा अधिवेशनको समन्वयन, सहजीकरण र प्रदेश निर्वाचन आयोग गठन गर्न केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूलाई जिम्मेवारी तोकेको थियो । आगामी असार ७, ८ र ९ गते चितवनमा रास्वपाको प्रथम महाधिवेशन हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us