आयोगको प्रतिवेदन पूर्वाग्रही र बदनियतपूर्णः एमाले

काठमाण्डु टुडे २०८३ जेठ २२ गते १६:१० मा प्रकाशित

काठमाण्डू, २२ जेठ– एमालेले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई राजनीतिक पूर्वाग्रह र बदनियतपूर्ण भएको बताएको छ ।

आज (शुक्रबार) एमाले महासचिव शंकर पोखरेलले वक्तव्य जारी गरेर जेनजी आन्दोलनमाथि आयोगले तयार पारेको प्रतिवेदनप्रति आपत्ति व्यक्त गरेका हुन ।

‘प्रतिवेदन घटनाको वस्तुगत अनुसन्धान भन्दा पनि पूर्वनिर्धारित निष्कर्षलाई पुष्टि गर्नेगरी प्रायोजित, नियोजित र निर्देशित रुपमा योजनाबद्ध ढंगले बदनियतपूर्ण दिशामा बढी केन्द्रीत भएको देखिएको छ,’ एमालेको वक्तव्यमा भनिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रत्यक्ष आदेश दिने वा कुनैपनि प्रकारको आपराधिक जिम्मेवारीमा स्थापित गर्न नसकेपनि कानुन बनाएर भएपनि कार्बाहीको सिफारिसप्रति एमालेले आपत्ति नजाएको छ ।

‘.. प्रतिवेदनले राजनीतिक निष्कर्षतर्फ उन्मुख भएर कारबाहीको सिफारिस गरेको देखिन्छ, जुन आफैमा गम्भीर विरोधभास र औचित्यहीन समेत रहेको छ,’ बक्तव्यमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us