शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैनः सुशीला कार्की

काठमाण्डु टुडे २०८३ जेठ २२ गते १४:१३ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिट्यान्न पार्छु भन्नेतिर लाग्न नहुने बताएकी छन । आज (शुक्रबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन ।

उनले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै निमिटयान्न गराउनेतिर सरकार लाग्न नहुने बताएकी हुन् । पूर्वप्रधानमन्त्री कार्कीले प्रधानमन्त्री बालेन साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई विगतलाई हेरेर अघि बढ्न सुझाव समेत दिएकी छन ।

सरकारमा आएका नवयुवाहरूले अघिल्लो कुराहरू मनन गरेर, हिस्ट्रीलाई मनन् गरेर मुलुक चलाउँदा राम्रो हुने पूर्वप्रधानमन्त्री कार्कीको भनाइ थियो । उनले सत्तारुढ दलका नेताहरुले आफूहरु पनि सधैं युवा रहँदैनौ भन्ने कुरालाई हेक्का राख्नुपर्ने बताइन् ।

त्यसैगरी पूर्वप्रधानमन्त्री कार्कीले विपक्ष दलहरूले पनि सरकारको खुट्टा तान्ने प्रवृत्ति राम्रो नभएको समेत बताएकी छन । उनले भनिन्, ‘आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तानामुद गराउँछु भन्नेतिर पनि लाग्नु हुँदैन । म एउटै कुराको के इक्ज्याम्पल दिन्छु भने इन्टिरियम गोभरमेन्ट कसरी आफनो मिसनमा सफल भयो त ? यो कुरालाई पनि हेरौं न ।’

पोलिटिकल पार्टीहरू बीच हुने प्रतिस्पर्धाले मुलुकलाई अघि बढाउन सहज पुग्ने उनको तर्क छ । पूर्वप्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूले नै मुलुक हाँक्ने भएकाले उनीहरूलाई आफूले कहिल्यै पनि कमजोर नठानेको समेत बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us