खाँदबारी–किमाथांका सडकमा कार्यरत मजदुरको मृत्यु

काठमाण्डु टुडे २०८३ जेठ २१ गते १६:५८ मा प्रकाशित

काठमाण्डू, २१ जेठ– सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्ग अन्तरर्गत खाँदबारी–किमाथांका सडक खण्डमा कार्यरत मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम निवासी ६० वर्षीय छुथरुङ मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिएका छन । मजदुर मुसहर खाँदबारी नगरपालिका–४ स्थित शर्मा एवं शिवशक्ति कम्पनीको ब्यारेकमा केही महिनादेखि बस्दै आएका थिए ।

बुधबार राति खाना खाएर सुतेका मजदुर मुसहर अचानक बिरामी भएका थिए । सुतेकै अवस्थामा अचानक खोकी लागेर स्वास्थ्य अवस्था बिग्रिएपछि उनका छोरा शिव मुसहरले उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा, खाँदबारी पुर्‍याएका थिए ।

जिल्ला अस्पतालमा भर्ना भएका मजदुर मुसहरको बिहीबार बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनी शर्मा एवं शिवशक्ति कम्पनीमा मजदुरी गर्दै आएका थिए ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्रटमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us