भोलिबाट परराष्ट्रमन्त्री खनालको भारत भ्रमण, कार्यतालिका सार्वजनिक

काठमाण्डु टुडे २०८३ जेठ २१ गते १६:४४ मा प्रकाशित

काठमाण्डू, २१ जेठ– परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार (भोलि) देखि तीन दिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन ।

परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो । भारतीय विदेशमन्त्री डा. एस। जयशङ्करको सौहार्दपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा जान लागेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा। जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन् । उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विशेषगरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार–विमर्श हुने कार्यसूची रहेको छ । भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us