काठमाण्डू, २१ जेठ– पासपोर्टले तपाईं विश्वका कति भागहरूमा पुग्न सक्नुहुन्छ र कति देशमा भिसाविना प्रवेश (भिसा–फ्री इन्ट्री) पाउन सक्नुहुन्छ भन्ने तय गर्छ ।
कुनै देशका नागरिकहरूले भिसाविना कतिवटा देशमा जान सक्छन् भन्ने आधारमा विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स–२०२६ को नयाँ प्रतिवेदन सार्वजनिक गरीएको छ । गत वर्षको तुलनामा विश्वको पासपोर्ट र्यांकिङमा धेरै फेरबदलहरू देखिएका छन् ।
प्रतिवेदन अनुसार, गत वर्ष १०१ स्थानमा रहेको नेपाल ९७ औं स्थानमा उक्लिएर केही सुधार गर्न सफल भएको छ । सन् २०२५ मा शीर्ष १० बाट बाहिरिएको अमेरिका फेरि शीर्ष १० भित्र पर्न सफल भएको छ । यस वर्षको प्रतिवेदनअनुसार सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ ।
सिंगापुरका नागरिकले विश्वका १९२ देशहरूमा पूर्वभिसाविना (भिसा–फ्री) पहुँच पाएका छन् । त्यसैगरी, दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । यी तीन देशका नागरिकले १८७ देशमा भिसाविना प्रवेश पाउँछन्। तेस्रो स्थानमा १८६ स्कोरका साथ स्विडेन रहेको छ ।
गत वर्ष ९सन् २०२५ मा० ३६ देशमा पहुँचसहित १०१ औं स्थानमा रहेको नेपालले यस वर्षको सूचीमा केही सुधार गरेको हो । सन् २०२६ को इन्डेक्समा नेपाल ९७औं स्थानमा उक्लिएको छ । नेपाल र उत्तर कोरिया दुवै देश ९७औं स्थानमा रहेका छन्, जसको भिसा–फ्री स्कोर ३५ रहेको छ ।
यस वर्षको सूचीमा भारत ७८औं स्थानमा रहेको छ । भारत, बोलिभिया र सेनेगलका नागरिकले ५७ देशहरूमा भिसाविना पहुँच पाएका छन् । गत वर्ष भारत ७७औं स्थानमा रहेको थियो। अर्को छिमेकी राष्ट्र चीन ८२ भिसा–फ्री स्कोरका साथ ५६औं स्थानमा रहेको छ ।