ओलीकै सामुन्ने विष्णु पौडेलले भने: समयानुकूल पार्टीमा व्यापक पुनर्गठन

काठमाण्डु टुडे २०८३ जेठ २० गते १७:४४ मा प्रकाशित

काठमाण्डू, २० जेठ–पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनावी पराजयको निर्मम समीक्षा गर्नेगरी पार्टी अगाडि बढेको बताएका छन । आज (बुधबार) संगठन विभागले काठमाण्डूमा गरेको कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । पौडेलले पार्टी सामान्य अवस्थामा नरहेको समेत बताए ।

उपाध्यक्ष पौडेलले भने, ‘हामीबाट गल्ती भएको छ, गल्ती नभई धक्का खाइँदैन ।’ अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता रहेको उक्त कार्यक्रममा पौडेलले गल्ती गर्नेहरूले सक्किनुपरेको उदाहरण नै प्रस्तुत गरेका थिए ।

‘सन् १९२० मा स्थापना भएको भारतीय कम्युनिस्ट पार्टीले दोस्रो विश्वयुद्ध पछि सही निर्णय लिन नसक्दा सक्किनुपर्यो,’ पौडेलले उदाहरण दिँदै भनेका थिए, ‘तर चिनियाँ कम्युनिस्ट पार्टी सफलतातिर बढ्यो ।’

एमालेलाई सक्किनुबाट बचाउन पुनर्गठन नै विकल्प भएको निष्कर्ष पौडेलले सुनाएका थिए । समयानुकूल व्यापक पुनर्गठन गर्नुको विकल्प हामीसँग छैन,’ पौडेलले भनेका थिए, ‘त्यसअघि यो एक महिना हामी निर्मम समीक्षा गर्नेछौं ।’

आफ्नै सामुन्ने पौडेलले गल्ती गरेकैले चुनावमा हार्नुपरेको निष्कर्ष सुनाएपछि अध्यक्ष केपी ओलीले प्रतिवाद गरेका थिए । ओलीले पार्टीले गरिरहेको समीक्षा पुनर्गठनका निम्ति नभएको प्रष्टोक्ति दिएका थिए । ‘समीक्षा भनेको बिथोल्न होइन, समीक्षा भनेको जग हँसाइ गर्नलाई होइन,’ ओलीले भनेका थिए, ‘समीक्षा आन्तरिक कुरा हो, संघर्ष बाह्य कुरा हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us