काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आवेदन दिएपछि मात्रै पार्टीले सदस्यता दिएको बताएका छन ।
एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले पूर्वराष्ट्रपति भण्डारी ०३७ सालदेखि नै एमालेको सदस्य रहेको र बीचमा राष्ट्रपति भएको समयमा उनको सदस्यता निष्क्रिय रहेकोबारे स्पष्ट रहन आग्रह समेत गरेका छन ।
ओलीले भने, ‘विद्या भण्डारीजीको कुरा अहिले पनि हुने गर्छ । उठाउनै पर्दैन । उहाँ राष्ट्रपति भएको बेलामा सदस्य हुनुहुन्न थियो । नभएको सदस्यता नवीकरण हुँदैन थियो, ‘हाम्रो केन्द्रीय कमिटीले नवीकरण हुँदैन, एउटा आवेदन दिनुस् कमिटीले विचार गर्छ भनेको थियो ।
उहाँले आवेदन दिनुभयो, त्यसपछि कमिटीले सदस्यता थियो । उहाँ ३७ सालको पार्टी सदस्य हो । ३४ सालदेखि आन्दोलनमा लाग्नुभएको हो ।’ साथै, उनले राष्ट्रपति रहेको समयमा भने सदस्य नभएको विषयमा पनि प्रष्ट रहन आग्रह समेत गरेका छन । ‘उहाँ राष्ट्रपति हुँदा सदस्य हुनुहुन्न थियो ।
बाँकी अवधि उहाँले पछि छाडेपछि फेरि सदस्यता पाउनुभयो । यसमा ३७ सालकै पार्टी सदस्य हो । यसमा भ्रम राख्नु पर्दैन । फेरि राष्ट्रपति हुँदा उहाँ सदस्य हुनुहुन्न थियो ।’
यो विषय हारजितको नभएको पनि उनको भनाइ थियो । ‘यो हारजितको प्रश्नै होइन, यस्ता कुराहरूमा नबहकिन पनि म आग्रह गर्न चाहन्छु ।
हरेक कुरामा खोचे थाप्ने, निहुँ खोज्ने यो हुनै हुँदैन,’ ओलीले भने, ‘संगठनको विधि प्रक्रिया अनुसार चलौं । संगठनका लागि उच्च मनोबलका साथ तयार होऔं ।’