काठमाण्डू, २० जेठ– महानगर यातायात प्रा.लि.ले नयाँ विद्युतीय बसहरुमार्फत सेवा विस्तार गरेको छ । आज बुधवारदेखि काठमाण्डूको चक्रपथमा गुड्ने गरी १६ वटा विद्युतीय बस सन्चालनमा आएको महानगर यातायात प्रा.लि.ले जनाएको छ ।
३३ सिट क्षमताका नयाँ विद्युतीय बस उभिएर यात्रा गर्ने यात्रीहरुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको छ । उक्त बसहरुमा एकै पटक ७० हाराहारी यात्रीले यात्रा गर्न सक्ने महानगर यातायातले जनाएको छ ।
शशिला मोटर्स प्रा।लि।ले चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्ने बताइएको छ ।
उक्त बसको बजार मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ । अत्याधुनिक र सुविधासम्पन्न बसमा आरामदायी सिट र यात्री सुरक्षाका हरेक प्रबन्ध मिलाइएको शशिला मोटर्स प्रा.लि.ले जनाएको छ ।
महानगर यातायात प्रालिले गत वर्ष असारमा १२ वटा विद्युतीय बसहरु काठमाण्डूको चक्रपथभित्र सञ्चालन गरेको थियो । थप १६ वटा नयाँ विद्युतीय बसहरुको सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबका दिनमा विद्युतीय सवारी साधनको विकल्प नभएको भन्दै महानगर यातायातले यो सेवालाई थप विस्तार गर्दै लैजाने जानकारी दिएका छन् ।
सुरुवाती लगानी ठूलो भए पनि व्यवसायिक दृष्टिकोणले विद्युतीय बसहरु उपयुक्त भएको उनले बताएका छन । सचिव नेपालले व्यवसायीका लागि आय आर्जनका हिसाबमा राम्रो देखिएको भन्दै अन्य यातायात व्यवसायीलाई समेत विद्युतीय बस सञ्चालनमा जान सुझाव दिएका छन् ।
सरकारले पछिल्लो समय ५० युनिट भन्दा बढी विद्युत खपतमा लगाएको करमा विद्युतीय सवारी साधन सन्चालकका लागि छुट दिन उनले सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।