काठमाण्डू, १९ जेठ– प्रतिनिधि सभाको बैठक जबरजस्ती चलाएको भनेर विपक्षी दलका सांसदहरू सभामुखसँगै सवालजवाफमा उत्रिएका छन् । विपक्षीको वेल घेराउ नाराबाजीकाबीच विगतमा केही बैठक चले ।
यो विषयमा मंगलबार सभामै सभामुखसँग विपक्षी दलका सांसदहरूको सवालजवाफ भएको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक दुई बज्न दुई मिनेट बाँकी छँदा सुरु भएको थियो ।
निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतस् स्थगित हुने कानुनी व्यवस्था छ । यसकारण दुई मिनेट छिटो घण्टी बजाएर सदन सुरु गरिएको हो । सभामुखले ‘प्रतिनिधिसभा बैठकको कारबाही प्रारम्भ हुन्छ’ भने लगत्तै विपक्षी दलका सांसदहरू उठे विरोध गरे ।
त्यसपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरू दुईरतीन दिनदेखि उठिरहेको स्मरण गर्दै बजेटमाथिको छलफल गर्ने कार्यसूची रहेको त्यसमा अगाडि बढ्नका निम्ति सहयोग गर्न अनुरोध गरे तर विपक्षीले मानेनन् । सभामुखले ‘हिजो पनि कुरा राखेकै हो, आज पनि अनौपचारिक छलफलमा राखिरहेकै हो’ सभालाई कार्यसूचीमा प्रवेश गर्नका निम्ति अनुरोध गरे ।
आकस्मिक समय, शून्य समयमा आफ्ना कुरा राख्न सकिने भनेर विपक्षीलाई मनाउने प्रयास गरे । तर, विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य संसदले थाहा पाउनुपर्ने बताए । विपक्षी दलका सांसदहरू उठिरहेपछि सभामुख अर्यालले कांग्रेसका प्रमुख सचेतक बासना थापालाई बोल्न समय दिए । तर कांग्रेसले सुरुमा अभिषेक प्रताप साहलाई बोल्न अगाडि सार्यो ।
साहले प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको जमिन मिचेको भनेर बोलेको र यो तथ्यहिन रहेको भन्दै विरोध जनाए । यो विषय राष्ट्रिय सुरक्षासँग समेत गाँसिएको भन्दै यसमा सरकारले जवाफ दिनुपर्ने माग गरे । शाहले भने, ‘प्रधानमन्त्रीले कि त त्यो स्टेममेन्ट फिर्ता लिनुपर्छ ।
कि आम माफी माग्नुपर्छ । यो नहुन्जेल संसद् सञ्चालन हुँदैन । ’गत आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
यस्तो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले लगातार प्रतिनिधिसभाको बैठकमा विरोध गर्दै आएका छन् । विरोधका बीच प्रतिनिधिसभा बैठक संचालन हुँदै आएको छ । विपक्षीको विरोधका बीच प्रतिनिधिसभाले प्रतिनिधिसभा नियमावली पारित गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन संशोधन विधेयक, मतदाता नामावली ऐन संशोधन विधेयक पारित गरेको छ । वैकल्पिक विकास कोष सम्बन्धी विधेयक पनि विरोधका बीच पारित भएर अगाडि बढेको छ । विपक्षीले विरोध गरे पनि सभा सञ्चालन भइरहने र कार्यसूची अगाडि बढिरहने भएपछि विपक्षी दलका सांसदहरूले सभामुख माथि नै समेत प्रश्न उठाएका हुन् ।
यसक्रममा सभामुख र सांसदहरू सवालजवाफ नै भएको हो । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुललाले भने सदन सहज रूपमा चलोस् भन्ने विपक्षीहरूको मनसाय रहेको बताए ।