काठमाण्डू, १९ जेठ– कांग्रेस राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले प्रधानमन्त्री बालेन्द्र साहले ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ’ भनी दिएको अभिव्यक्तिबारे माफी नमागेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन ।
आज (मंगलबार) बसेको राष्ट्रिय सभा बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति घोर आपत्तिजनक र निन्दनीय रहेको बताए । उनले प्रधानमन्त्री साहले संसदमा आएर माफी नमागेसम्म बैठक अगाडि बढाउन नदिने समेत बताए ।
सचेतक परियारले प्रधानमन्त्री साहको कुटनीति र राजनीति सम्बन्धी सामान्य ज्ञान समेत नभएको कुरा यो अभिव्यक्तिले छताछुल्ल पारेको जिकिर गरे। प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवारपूर्ण र गन्तव्यहीन विचार कांग्रेसका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने अडान समेत दोहोराए ।
उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको करिब ३७२ वर्ग किलोमिटर भूभाग भारतद्वारा अतिक्रमण भएको कुरा सबैलाई थाहा भएको अवस्थामा सरकार प्रमुखकै तर्फबाट नेपालले भारतीय भूमि मिचेको भनी स्वीकारोक्ति आउनु राष्ट्रघाती भएको आरोप लगाए।