काठमाण्डू, १८ जेठ– नेकपा (संयुक्त) का कार्यबाहक अध्यक्ष घनश्याम भुसालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेपालले पनि भारतीय जमिन अतिक्रमण गरेको भन्दै अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाल कस्तो राजनीतिक समयमा छ भन्ने विषयको ज्वलन्त अर्थात दिगम्बरी उदाहरण भएको टिप्पणी गरे ।
‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने शाहको अभिव्यक्ति कुनै अनौठो कुरा नभएको र यो आजको नेपाली राजनीति हिँडेको बाटोमा एउटा ‘साइनपोष्ट’ मात्र भएको उनको भनाइ छ ।
‘हामी राजनीतिको कस्तो समयमा बाँचिरहेका छौं भन्ने कुराको ज्वलन्त अर्थात् दिगम्बरी उत्तर आज प्रधानमन्त्रीले सदनमा नेपालको सीमाबारे बोलेर दिएका छन्’, भुसालले लेखेका छन्, ‘र, यो कुनै अनौठो कुरा होइन । यो आजको नेपाली राजनीति हिँडेको बाटोमा एउटा साइनपोष्टमात्रै हो ।’
राष्ट्र वा समाजको यस्तो क्षणलाई स्वनामधन्य ग्राम्सीले सबैभन्दा राम्रोसँग चित्रण गरेको उनले बताए । यस्तो अवस्थालाई ग्राम्सीले पुरानो मरेको तर नयाँ नजन्मिएको क्षणको रुपमा चित्रण गरेको भुसालले स्मरण गरे ।
भुसालले नेपाली समाजले भोग्नुपर्ने दुर्दिन अझै धेरै रहेको दाबी गरे । समाजको अर्को पङ्ति तथाकथित नयाँको चूर नसाबाट नब्युँझिँदासम्म यस्तै भइरहने भन्दै उनले व्यहोर्न तयार रहन सबैलाई आग्रह गरे ।
‘यो ऐठनको समय हो । यो नालाकयहरुबाट लफंगाहरूमा राजपाठ सरेको समय हो । हेक्का रहोस्, यो गन्तव्यतर्फ पूर्वाभ्यास मात्रै हो । नेपाल राष्ट्रले भोग्नु पर्ने दुर्दिन अझै धेरै छन्’, भुसालले भनेका छन्, ‘पुरानैमा सास भर्न सकिन्छ कि भनेर यो अभागी समाजको एउटा पङ्तिले जहिलेसम्म सतिदेवीको लास बोकिरहन्छ र समाजको अर्को पङ्ति तथाकथित नयाँको चूर नसाबाट ब्युँझिन्न तबसम्म यस्तै भइरहन्छ । यो चानेचुने छैन। ब्यहोर्न तयार भए हुन्छ ।’