
प्रहरी कार्यालय मोरङबाट अनुसन्धान कार्य सम्पन्न गरी निर्णयका लागि पेश हुन आएको हो । प्रस्ततु मुद्दामा प्रहरीको प्रतिवेदन, घटनास्थल एवम् बरामदी मुचुल्का, प्रतिवादीको अधिकारप्राप्त अधिकारी समक्षको साविती बयान एवम् वस्तुस्थिती मुचुल्कामा बस्ने मानिसले लेखाइदिएको व्योहोरा कागजसमेतबाट राउतले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पारेको तथ्य पुष्टि भर्इ राष्ट्र विप्लव मुद्दाको वारदात पुष्टि हुन आयो ।
२०७१र५र२८ गते १७।३० बजेको समयमा प्रतिवादी सिके राउतले जिल्ला मोरङ सोराभाग गाविस वडा नं ३ कर्सियामा सर्वसाधरण मानिसलाई जवरदस्ती भेला गराई सार्वजनिक सद्भाव भड्काउने कार्य गरेको भन्ने सूचनाको आधारमा निजलाई पक्राउ गरि पेश गरेको सइ राजेश दत्तको प्रतिवेदनबाट उठान भएको प्रस्तुत मुद्दामा सोही मितिको बरामदी मुचुल्काबाट निजले बोकेको कालो झोलाबाट मधेस स्वराज डा सिके राउत लेखिएको किताब थान १, स्वतन्त्र मधेस गठबन्धनको घोषणपत्र थान १, वीर मधेसी डा। सिके राउत थान १, मधेसको इतिहास डा। सिके राउत लेखेको किताब थान १२, अंग्रेजीमा तराई मधेस लेखिएको प्रोफाइल किताब थान १, तन मन धन विद्या बचन समेत लेखिएको डायरी थान १, भिडियो क्यामेरा थान १, क्यामेरा थान १, कार्ड रिडर थान १, मेमोरी कार्ड थान २ बरामद भएको देखिन्छ ।
निजबाट बरामद भएका किताब लगायत सामग्रीबाट नेपाल राज्य विखण्डन गरी नेपालको तराई भू–भागलाई टुक्राएर छुट्टै मधेस राज्य बनाउने अभियान चलाएको देखियो । घोषणापत्रमा मधेस राष्ट्रको इलाका, राष्ट्रिय गान तथा नेपाल र मधेस राष्ट्रलाई छुट्टाई सीमाङ्कन गरेको नक्सा समेत तयार गरि नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले अव्यवस्था उत्पन्न गर्ने जस्ता कार्य गरेकोले निजउपर राज्यविरुद्वको अपराध र सजाय ऐन २०४६ बमोजिम कारबाही गरि पाउ भनि सइ राजेश दत्तले मिति २०७१र५र३१ मा जिल्ला प्रहरी कार्यालय मोरङमा प्रतिवेदन दिएको देखिन्छ ।
मिसिलसाथ संलग्न प्रतिवादीबाट बरामद भएको स्वतन्त्र मधेस गठबन्धनको घोषणापत्रको पाना नम्वर २ र ३ मा प्रस्तावित मधेस राष्ट्रको छुट्टै झण्डा तयार गरि नेपाल राष्ट्र तथा मधेस राष्ट्र छुट्टाछुट्टै देखिनेगरि सीमाङ्ककन गरिएको र छुट्टै राष्ट्रिय गान समेत तयार गरेको देखियो ।
सोही घोषणापत्रको अन्तिम पेजमा स्वतन्त्र मधेस गठबन्धनका माग भनी ‘मधेसको सार्वभौम सम्पन्न स्वतन्त्र देश घोषण कि जाए । नेपाली उपनिवेसका अन्त हो’ जस्ता नौ बुँदे मागहरु राखिएको जो नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय स्वतन्त्रतामा प्रत्यक्ष खलल पार्ने जस्तो कार्य भएको देखिन्छ ।
साथै प्रतिवादी राउतबाटै बरामद भएको ‘मधेस स्वराज’ नामक किताबको पेज नं ४० मा नेपाल राज्यलाई टुक्राएर नेपाल र मधेस अलगअलग राष्ट्र देखिने गरी नेपालको नक्सालाई परिवर्तन गरेको, सोही किताबममा नेपाललाई टुक्राएर स्वतन्त्र मधेस बनाउने सम्पूर्ण योजनादेखि त्यसका लागि तयारीसम्मका सम्पूर्ण योजना समाविष्ट भएको देखिएको र सोही किताबको पेज नं १८२ मा ‘मधेसको सार्वभौम सम्पन्न स्वतन्त्र देश घोषणा कि जाए’ जस्ता माग उल्लेख भएको देखिँदा प्रतिवादी उपरको दाबी पुष्टि भएको देखिन्छ ।
प्रतिवादी राउतले अनुसन्धानको क्रममा बयान गर्दा बरामदी मुचुल्कमा उल्लेखित किताब लगायतका सामानहरु मेरा हुन् बरामदी मुचुल्कामा भएको सहीछाप मेरो हो । आफूले नेपालको दशगजादेखि उत्तर मेचीदेखि महाकालीसम्म चुरेसम्मको भू–भागलाई नेपाल राष्ट्रबाट अलग्याएर छुट्टै मधेस राष्ट्रको स्थापना गर्न स्वतन्त्र मधेस गठबन्धको घोषणापत्र तयार गरी मधेस राष्ट्रको प्रस्तावित राष्ट्रिय गान र झण्डाको प्रस्ताव गरी मधेस स्वराज नामक पुस्तक तयार गरेको हुँ ।
आफूले उठाएको स्वराज मधेसीको समस्या समाधान भनेको मधेसलाई नेपाल राष्ट्रबाट टुक्राएर छुट्टै मधेस राष्ट्रको स्थपना गर्नु हो ।
उक्त कार्यका लागि आफू स्वतन्त्र मधेस गठबन्धनको संयोजक भर्इ कार्यक्रम संचालन गरेको हो । आफ्नो मूल उद्देश्य भनेको नेपाल राष्ट्रबाट तराई भू–भाग टुक्राएर छुट्टै मधेस राष्ट्रको स्थापना गर्नु हो र उक्त कार्यको लागि तराईका विभिन्न १३ जिल्लामा कार्यक्रम संचालन समेत गरेको छु भनी आफू कसुरमा पूर्ण सावित रही बयान गरेको पाइयो ।
यस्तै अनुसन्धानको क्रममा नै कागज गर्ने डिल्लीराम डाँगी र नेत्रबहादुर भट्टराईको कागजबाट मिति २०७१र५र२८ गते मोरङ सोराभाग गाविस वडा नं ३ कर्सियामा अमेरिकामा वैज्ञानिकको काम गर्ने चन्द्रकान्त राउतले कार्यक्रम गर्दैछन् भन्ने थाहाँ पार्इ उक्त स्थानमा बसी कार्यक्रम हेरेका थियौं । निजले उक्त कार्यक्रममा मधेस अंग्रेजले नेपाललाई उपहार दिएको, मधेस मधेसीहरुको भएको र अब मधेसलाई छुट्टै राष्ट्र बनाउने भनेका थिए । उक्त कार्यका लागि आफूले किताब, घोषणापत्र लेखिसकेको, नक्साको सीमाङ्कन गरिसकेको र मधेस राष्ट्रको झण्डा र राष्ट्रिय गानसमेत तयार पारेको बताएका थिए ।
नेपाली सेना, प्रहरी र कर्मचारीलाई मधेसबाट हटाएर छुट्टै सेना, पुलिस र कर्मचारी नियुक्ति गर्ने, नयाँ सरकार गठन गरी मधेस राष्ट्रको संविधान बनाउने भनी अभिव्यक्ति दिएका र निजको लेखरचना समेतबाट प्रतिवादीले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डतामा खलल पार्ने कार्य गरेका हुँदा राष्ट्र विप्लवको कसुर गरेका हुन् भनी लेखाइदिएको देखिन्छ ।
अनुसन्धानकै क्रममा कुमार महतो, आनन्दी मण्डल समेतका व्यक्तिको कागजबाट २०७१र५र२८ गते उल्लेखित स्थानमा मानिस भेला गराई मधेसलाई नेपालले उपनिवेस बनाएको कारणबाट अब मधेसलाई टुक्राएर छुट्टै मधेस राष्ट्र बनाउनुपर्छ सोका लागि मधेसमा छुट्टै सेना, पुलिस र कर्मचारी नियुक्ति गर्नुपर्छ । मधेस राष्ट्रले संयुक्त राष्ट्रसंघ लगायत अन्य संघसंस्थामा छुट्टै राष्ट्रको पहिचान लिएर प्रतिनिधित्व गर्नुपर्छ भनी वक्तव्य दिएको देखिन्छ ।
यसरी माथि उल्लेखित विवेचित तथ्य तथा प्रमाणबाट प्रतिवादी सिके राउतले मधेसलाई नेपालबाट टुक्राएर छुट्टै मधेस राष्ट्र बनाउने उद्देश्य साथ विभिन्न गतिविधि गरेको स–प्रमाण पुष्टि हुन आयो ।
निजले गरेका कार्य राज्यविरुद्वको अपराध र सजाय ऐन २०४६ अनसारको कसुर अपराध हुँदा प्रतिवादी सिके राउत उपर सोही ऐनको दफा ३ (१) बमोजिम सजाय हुन मागदाबी लिएको छ ।
(सरकारी वकिलले राउतविरुद्ध दायर गरेको अभियोगपत्रको अंश)