कामु प्रधानन्यायाधीश मल्लको आदेशः रोकिएका रिट र निवेदनहरू तत्काल दर्ता गर्नू

काठमाण्डु टुडे २०८३ जेठ ४ गते १३:३० मा प्रकाशित

काठमाण्डू, ४ जेठ– कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका रिट दर्ता गर्न आदेश दिएकी छन् । यसअघि कानुन व्यवसायीहरुले दर्ता गर्न ल्याएको रिट दरपीठ गरेको र दरपीठविरुद्ध रिट दर्ता गर्न खोज्दा पनि नगरेको गुनासो गरेपछि कामु प्रधानन्यायाधीश मल्लले रिट दर्ता गर्न आदेश दिएकी हुन ।

उनले आजै एक बजेभित्र सबै रिट निवेदनहरु तथा दरपीठ आदेश उपरको निवेदन समेत दर्ता गरी भोलि जेठ ५ गते मंगलबारको तारेख तोकी पेशीमा चढाउन समेत आदेश दिएकी छन् । यसअघि संवैधानिक परिषद बैठकले चौथो बरियताका डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेपछि त्यसविरुद्ध कानुन व्यवसायीहरुले रिट दायर गर्न खोजेका थिए ।

तर सर्वोच्च अदालतले सो रिट दरपीठ गरिदिएको थियो । रिट दरपीठ विरुद्ध पनि रिट दायर गर्न खोज्दा मुख्य रजिष्ट्रारले अस्वीकार गरेको गुनासो कानुन व्यवसायीले गरेका थिए । आज केही कानुन व्यवसायीहरुले कामु प्रधानन्यायाधीश मल्ललाई भेटेरै आफ्ना गुनासाहरु राखेका थिए ।

आजै कामु प्रधानन्यायाधीश मल्लले लिखित आदेशमा भनेकी छन्, ‘कानुनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्राप्तिको बाटोको अवरोध र अदालतका जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास हुने देखिन्छ ।’ न्यायाधीशहरू समक्ष मुख्य रजिष्ट्रारको ध्यानाकर्षण गराउँदा प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश (डा. मनोज कुमार शर्मा) ले नै निर्देशन दिएकाले नगरेको भन्ने कुरा जानकारी गराएको पनि उनले आदेशमा उल्लेख गरेकी छन् ।

कामु प्रधानन्यायाधीश मल्लले नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ को दफा ३५ र सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७ बमोजिम प्रधानन्यायधीशको हैसियतले आवश्यक निर्देशन एवं आदेश गर्नुपर्ने अवस्था आएको उल्लेख गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us