काठमाण्डू, ३ जेठ– सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौंदेखि बसेको बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले आज बुटवलमा प्रदर्शन गरेका छन ।
नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन भएको हो । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन मिलनचोक, अस्पताललाइन हुँदै ट्राफिकचोक पुगेर सभामा परिणत हुने समितिले जनाएको छ । प्रदर्शनमा भूमिहीन र अव्यवस्थित बसोबासीको उल्लेख्य बस्ती रहेका २२ बढी जिल्लाबाट ठूलो संख्यामा सहभागिता रहेको छ ।
कार्यक्रममा सहभागीले सरकारविरुद्ध नाराबाजी गरेका छन् । प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । प्रदर्शनपछि हुने सभामा सातै प्रदेशका सरकारले बिना विकल्प गरिब सुकुमवासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर उठिबास लगाउने कार्य गरेकाले यसको सशक्त विरोध गर्न प्रदर्शनमा सहभागी हुन आयोजकले आव्हान गरेको छ ।
प्रदर्शनमा ३० हजार बढी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उपस्थिति हुने आयोजकको दाबी छ । सरकारले वैकल्पिक व्यवस्थाको भरपर्दो व्यवस्था नगरी हतारोमा वस्तीमा डोजर आतंक मच्याएपछि देशभरका १२ लाख बढी परिवारका झन्डै ५० लाख नागरिक प्रभावित भएका संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले जानकारी दिएका छन ।