चितवनमा जंगली च्याउ खाँदा थप एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८३ जेठ ३ गते १६:४८ मा प्रकाशित

काठमाण्डू, ३ जेठ– चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

२९ वैशाखमा श्यामबहादुर चेपाङको पाँच जना परिवारले जंगली च्याउ खाएका थिए । जसमध्ये तीन जना १ जेठमा बिरामी परी उपचारका लागि भरतपुर अस्पताल ल्याइएको हो ।

उपचारका क्रममा नमुनाको मृत्यु भएको थियो । १३ वर्षीया मनिता चेपाङको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बिरामी मनिताको अवस्था गम्भीर रहेको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us