कांग्रेस व्यक्तिमुखी होइन, कार्यक्रममुखी बन्नुपर्छः संविधानविद् अधिकारी

काठमाण्डु टुडे २०८३ जेठ ३ गते १६:४४ मा प्रकाशित

काठमाण्डू, ३ जेठ– संविधानविद् विपिन अधिकारीले मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक विरासत र आधारभूत सिद्धान्तलाई बिर्संदै गएको बताएका छन ।

उनले कांग्रेस अब व्यक्तिमा आधारित नभई स्पष्ट कार्यक्रम र नीतिमा आधारित पार्टीका रूपमा रूपान्तरण हुनुपर्ने समेत बताए । काठमाण्डूमा आज (आइतबार) आयोजित एक कार्यक्रममा बोल्दै उनले सिंगापुरको ‘पिपल्स एक्सन पार्टी’ (पीएपी) को उदाहरण दिँदै अधिकारीले कुनै पनि राजनीतिक दल सफल हुनका लागि दीर्घकालीन दृष्टिकोण, अनुशासन र व्यावहारिक राजनीति (प्राग्मटिज्म) आवश्यक हुने समेत बताए ।

बीपी कोइरालाको समयमा कांग्रेस एक असाधारण र उत्कृष्ट पार्टी रहेको स्मरण गर्दै अधिकारीले तत्कालीन समयमा सिमित स्रोतसाधन र कठिन परिस्थितिका बाबजुद पनि नेताहरूमा उच्च राजनीतिक प्रतिबद्धता रहेको स्मरण गराए । बीपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मर्म अहिले हराउँदै गएको उनको तर्क छ । पार्टी व्यक्ति विशेषको इच्छामा नभई तय गरिएका नीति र कार्यक्रमका आधारमा चल्नुपर्ने,राष्ट्रिय स्तरमा लोकतन्त्रको वकालत गर्नुअघि दलभित्रै लोकतान्त्रिक अभ्यास र अनुशासन मजबुत हुनुपर्ने, दोस्रो र तेस्रो पुस्ताका नेताहरूलाई नेतृत्वका लागि तयार पार्नुपर्छ र नेतृत्वमा पुग्ने प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने उनको सुझाव छ ।

उनले भने, ‘सिंगापुर निर्माणमा पीएपीको अनुशासन, स्वच्छ छवि र कठोर सङ्घर्षले काम गरेको छ । हाम्रो सन्दर्भमा कांग्रेसले आफ्नो आदर्श र भुइँतहका मुद्दाहरूलाई छोड्दै गएको देखिन्छ । कुनै समय कांग्रेसको एजेन्डामा कृषि र किसान प्राथमिकतामा थिए । सुवर्णशमशेरले प्रस्तुत गरेको बजेटदेखि बीपीका नीतिहरूमा भुइँतहका मानिसको अवस्था सुधार्ने स्पष्ट मार्गचित्र थियो ।

अहिले ‘जोत्नेको जमिन’ जस्ता आधारभुत सिद्धान्तहरू हराएका छन् र पार्टीले किसान सङ्गठन तथा ग्रामीण मुद्दाहरूसँगको सम्बन्ध गुमाउँदै गएको छ ।’ विश्वका अन्य लोकतान्त्रिक पार्टीहरूको चर्चा गर्दै उनले न्युजिल्याण्डको लेबर पार्टी, स्विडेनको सोसल डेमोक्रेटिक पार्टी र जर्मनीका विभिन्न राजनीतिक दलहरूले गठबन्धन संस्कृतिमा रहेर पनि कसरी आफ्नो मूल्यमान्यता र अनुशासन कायम राखेका छन् भन्नेबारे सिक्नुपर्ने समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us