‘१४ औं महाधिवेशनबाट निर्वाचित नेतासँग काम गर्न तयार छु, कसलाई कहाँ राख्ने आउनुस्’: गगन थापा

काठमाण्डु टुडे २०८३ जेठ ३ गते १६:३१ मा प्रकाशित

काठमाण्डू, ३ जेठ– कांग्रेसका सभापति गगन थापाले १४ औं महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समेटेर अगाडि जान आफू तयार बताएका छन ।

आज (आइतबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिहरूमा समेट्ने प्रस्ताव समेत राखेका छन । उनले पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको नेताहरूको ठूलो पङ्ति बाहिर छ, ‘म के भनिरहेको छु– १४ औं महाधिवेशनबाट निर्वाचित नेताहरू जो हुनुहुन्न मेरो समितिभित्र ।

त्यो प्रत्येक नेता जो चाहनुहुन्छ, म अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राखेर हुन्छ म उहाँहरूलाई सँगै राखेर काम गर्न चाहन्छु । मेरो प्रस्ताव हो यो ।’ यस्तै उनले निर्वाचन समिति, सदस्यता छानबिन समिति र अनुशासन समितिमा पनि बाहिर रहेका नेतालाई समेटेर १५ औं महाधिवेशन पारदर्शी गर्न चाहेको पनि बताएका छन । त्यसका लागि छलफलमा आउन उनले इतर पक्षका नेतासँग आग्रह समेत गरेका छन ।

पार्टीमा विशेष महाधिवेशनमा सहभागी भएको र नभएको आधारमा विभेद नगर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे । ‘को विशेष महाधिवेशनबाट आएको थियो, को आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने कुरा पनि हुँदैन, पार्टीको निर्णय पनि चाहे त्यो प्रादेशिक सरकार होस्, चाहे संसदीय दलका बारेमा होस्, चाहे त्यो स्थानीय सरकारका बारेमा होस्, चाहे त्यो भातृसंस्थाका बारेमा होस्,’ उनले भने । उनले आफूले यिनै प्रस्ताव इतर पक्षका नेतासमक्ष भेटेर पनि राखेको समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us