सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाँदै

काठमाण्डु टुडे २०८३ जेठ ३ गते १३:४३ मा प्रकाशित

काठमाण्डू, ३ जेठ– काठमाण्डू महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गदैछिन् । उनी बेलुका फ्रान्स प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

महानगर प्रवक्ता नवीन मानन्धरका अनुसार डंगोल एक्लै फेस्टिभलमा जान लागेकी हुन् । उनी त्यहाँ ४ दिन रहेर फेस्टिभलको अनुभव बटुल्ने तथा कान्स फेस्टिभलका प्रमुखलाई काठमाण्डू भ्रमणको निम्तो समेत दिनेछिन् ।

महानगरले निकट भविष्यमा आयोजना गर्न लागेको काठमाडौं फिल्म फेस्टिभलको पूर्वतयारी स्वरुप डंगोल कान्स जान लागेको प्रवक्ता मानन्धरको भनाइ छ । यो महोत्सवअन्तर्गत काठमाण्डू महानगरका टोल टोलमा फिल्म फेस्टिभल आयोजनाको तयारी भैरहेको छ ।

यसअघि तत्कालिन महानगर प्रमुख बालेन शाह पनि कान्स गएका थिए । युनेस्कोले काठमाण्डू सहरलाई फिल्म सिटीको रुपमा घोषणा गरिसकेको छ । कान्स फिल्म फेस्टिभल २१ मेसम्म फ्रान्समा आयोजना हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us