काठमाण्डू– आइसिसी विश्वकप लिग–२ मा नेपालले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरले हराएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले मात्र ३६.४ ओभरमा पूरा गर्यो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले नटआउट ५० रनको योगदान दिए । भुर्तेलले १३ चौका र ४ छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा भूर्तेलको यो दोस्रो शतक हो ।
अर्का ओपनर आशिफ शेखले अर्धशतक बनाए ७२ बलमा उनले ५८ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले ४३।३ ओभरमा नेपाललाई १९५ रनको लक्ष्य दिएको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले एक÷एक विकेट लिए ।
शुभम रन्जने र मोहम्मद मोशिन रन आउट भए ।
अमेरिकाका लागि कप्तान तथा ओपनर स्मित पटेलले सर्वाधिक ८३ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।
शेहान जयसुरियाले ५३ बलमा ५ चौका र १ छक्काको मद्धतले अर्धशतक बनाए । उनले ५० रन जोडे । मिलिन्ड कुमारले २८ रन बनाउँदा अन्य ब्याटर दोहोरो अंकको रन बनाउन असफल रहे ।
जितसँगै सातौं स्थानमा रहेको नेपालले २० अंक बनाएको छ । छैटौं स्थानको क्यानडाको २१ अंक छ ।
नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन बाँकी सबै खेल जित्नुपर्छ । लिग–२ मा नेपालले १० खेल खेल्न बाँकी छ ।