काठमाडौं, जेठ २- आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध जारी खेलमा नेपालले १९६ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा अमेरिकालाई ४३.३ ओभरमा १९५ रनमै समेट्दै नेपालले मध्यम लक्ष्य पाएको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। सोमपाल कामीले दुई विकेट हात पार्दा सन्दीप लामिछाने र गुल्सन झाले समान एक/एक विकेट लिए ।
अमेरिकाका शुभम रन्जने र मोहम्मद मोशिन रनआउट भएका थिए ।
अमेरिकाका कप्तान तथा ओपनर स्मित पटेलले सर्वाधिक ८३ रन बनाए । उनले ८९ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । शेहान जयसुरियाले ५० रनको योगदान दिए ।
उनले ५३ बलमा पाँच चौका र एक छक्का हाने। मिलिन्द कुमारले २८ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ । विश्वकप ग्लोबल क्वालिफायरको सम्भावना कायम राख्न नेपाललाई बाँकी खेलहरूमा जित आवश्यक छ । साथै एकदिवसीय मान्यता जोगाउन पनि नेपाल शीर्ष ६ भित्र रहनुपर्ने दबाबमा छ ।
नेपाल २५ खेलबाट आठ जित, १५ हार र दुई खेल अनिर्णितसहित १८ अंकका साथ तालिकाको आठौँ स्थानमा छ ।
अमेरिका भने २५ खेलबाट १८ जित र सात हारसहित ३६ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । स्कटल्यान्ड ३० खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा छ ।