सय रुपैयाँ बढीको सामानमा भन्सार लगाएर मधेशको भान्सामा राज्यले अवरोध खडा गर्‍योः गगन थापा

काठमाण्डु टुडे २०८३ वैशाख १७ गते १५:०२ मा प्रकाशित

काठमाण्डू, १७ वैशाख– कांग्रेसका सभापति गगनकुमार थापाले एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने सरकारको निर्णय अव्यवहारिक भएको तर्क गरेका छन । चुनावी क्षेत्र सर्लाही पुगेर फर्किएको बताउँदै कांग्रेस सभापति थापाले सरकारको नयाँ निर्णयले जनतालाई थप समस्या भएको बताएका हुन् ।

उनले भने, ‘सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीबाट भर्खरै फर्किएको छु। त्यहाँका नागरिकहरूसँगको अन्तर्क्रिया पछि एउटा गहिरो छटपटी र आक्रोश मनमा लिएर फर्किएको छु । कागजमा सीमित रहेको, तर हालै संघीय सरकारले कडाइका साथ लागू गर्न खोजेको ‘१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने’ अव्यवहारिक आदेशले सीमा क्षेत्रका नागरिकको दैनिकी कति कष्टकर बनाएको छ भन्ने कुरा भुक्तभोगीलाई मात्र थाहा छ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यहाँ मैले केही यस्ता दृश्य र आवाजहरू सुनेँ, जसले राज्यको चरित्रमाथि नै प्रश्न उठाउँछन् ।’

उनले स्थानीयले ज्यालादारी काम गर्न भारत गएर फर्किएका मजदुर बिस्कुटको एक प्याकेट लिएर आउँदा २ घण्टा सीमामा रोकिनुपरेको दुस्ख आफूले थाहा पाएको सुनाएका छन् । त्यस्तै उनले एक महिलाले भनेको भन्दै लेखेका छन्, ‘पहिला हामी सम्मानका साथ सीमा पार गर्थ्यौँ, अहिले डरका साथ पार गर्छौँ।’ सीमा क्षेत्रले भोगिरहेको यो असहजताको गह्रौँ भारी मसँगै फर्कँदैछ ।’

उनले यसबारे कानुन विगतमै बनेको स्वीकार्दै अव्यवहारिक भएको बताएका छन् । ‘एक इमानदार राजनीतिज्ञको हैसियतले म सत्य स्वीकार गर्छु, यो व्यवस्था हिजो मात्र आएको होइन ।

यो विभिन्न सरकारका पालामा, र मेरो आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा समेत कानूनका पानामा रहिरह्यो,’ उनले भनेका छन्, ‘तर, यो कानुन कति अव्यवहारिक छ भन्ने बुझेर नै हामीले यसअघि यसलाई लागू गर्न दिएका थिएनौँ । तथापि, समयमै यसलाई सुधार्न नसक्नु हाम्रो कमजोरी थियो। त्यो कमजोरी स्वीकार गर्ने र सच्याउने जिम्मा अब हाम्रै हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us