काठमाडौं- सक्रिय मनसुनी प्रणालीका कारण शनिबार पनि देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली, बागमती र कोशी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ भने पूर्वी भू–भागमा सरदर अवस्थाकै आसपास रहेको छ ।
यही प्रणालीका कारण देशभर सामान्यदेखि पूर्ण बदली भएको छ ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने र ती क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।
त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान छ ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ ।
यस्तै, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान, कोशी प्रदेशको तराई, मधेस प्रदेशका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
रातिको समयमा बागमती, गण्डकी तथा कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
विभागले निरन्तरको वर्षासँगै गेग्रान बहाव, आकस्मिक बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने जनाएको छ ।
यस्ता प्राकृतिक प्रकोपका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन र विभागबाट जारी हुने पछिल्ला मौसम पूर्वानुमान तथा सूचनालाई नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ ।