बंगलादेशका राष्ट्रपति शाहावुद्दिनले दिए राजीनामा

काठमाण्डु टुडे २०८३ साउन ८ गते १९:५७ मा प्रकाशित

एजेन्सी– बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले गम्भीर स्वास्थ्य समस्यालाई कारण देखाउँदै शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन ।

राष्ट्रपति मोहम्मद शाहावुद्दिनले पदबाट राजीनिमा दिएको राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको छ । ७६ वर्षीय शाहाबुद्दिनले अप्रिल २०२३ देखि सेरेमोनियल राष्ट्रपतिको पद सम्हाल्दै आएका थिए ।

उनको कार्यकालमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएपछि उत्पन्न राजनीतिक अस्थिरता पनि परेको थियो ।

राष्ट्रपतिका प्रेस सचिवद्वारा जारी विज्ञप्तिमा शाहावुद्दिनले भनेका छन्, ‘हालै गरिएको स्वास्थ्य परीक्षणबाट मलाई अटोनोमिक न्युरोप्याथी नामक रोग लागेको पुष्टि भएको छ ।

यसका कारण कहिलेकाहीँ म केही क्षणका लागि चेतनाहीन हुने गर्छु ।’ शाहाबुद्दिनको राजीनामासँगै, शेख हसिनाको योजनाबद्ध स्वदेश फर्किन अझै पाँच महिना बाँकी रहँदा, उच्च सरकारी पदमा उनका कुनै सहयोगी नरहने अवस्था बनेको छ ।

हसिनाको आवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाइएको छ भने २०२४ मा उनको सरकार ढाल्ने विद्यार्थी आन्दोलनपछि पार्टीका धेरै नेता तथा कार्यकर्ता जेल परेका छन् वा लुकेर बसेका छन । विज्ञप्तिअनुसार नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म सभामुखले राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us