काठमाण्डू, ९ साउन – अर्जेन्टिनाका अनुभवी डिफेन्डर निकोलस ओटामेन्डीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन ।
फिफा विश्वकप २०२६ को फाइनल खेलेको केही दिनपछि उनले राष्ट्रिय टोलीसँगको आफ्नो १७ वर्ष लामो यात्राबाट संन्यासको घोषणा गरेका हुन ।
३८ वर्षीय सेन्टर–ब्याक ओटामेन्डीले सन् २००९ मा अर्जेन्टिनाका लागि डेब्यु गरेका थिए । उनले बिहीबार आफ्नो सन्न्यासको घोषणा गर्दै स्पेनविरुद्धको विश्वकप फाइनल नै अर्जेन्टिनाको जर्सीमा आफ्नो अन्तिम खेल भएको बताएका छन् । उक्त खेलमा साविक विजेता अर्जेन्टिना अतिरिक्त समयमा १–० ले पराजित भएको थियो ।
ओटामेन्डीले अर्जेन्टिनाका लागि कुल १३९ अन्तर्राष्ट्रिय खेल खेले । उनले सन् २०१०, २०१८, २०२२ र २०२६ गरी चार संस्करणको विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका थिए ।
सन् २०२२ को कतार विश्वकप जित्ने टोलीका महत्त्वपूर्ण सदस्य रहेका उनी सन् २०२१ र २०२४ का लगातार दुई कोपा अमेरिका उपाधि विजेता टोलीमा पनि समावेश थिए ।