काठमाण्डू, १७ वैशाख– कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीका फरक विचार समूहले गरिरहेका भेलाहरूलाई अनौठो रूपमा नलिएको बताएका छन ।
गृहजिल्ला झापामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस उपसभापति शर्माले यस्तो बताएका हुन । पार्टीको संस्थापनइतर समूहहरूले छुट्टाछुट्टै भेला गरिरहेका बेला उपसभापति शर्माको यस्तो धारणा आएको हो । ‘महाधिवेशनतर्फ अगाडि बढिरहँदै गर्दा कतिपय भेलाहरू, छलफलहरू भइरहेको सुन्नुहुन्छ ।
लोकतन्त्रमा फरक विचारहरू, फरक समूहरूले गर्न पाउने व्यवस्था छ, उनले भने, ‘त्यसकारणले त्यसलाई हामीले अनौठो रूपमा लिएका छैनौं ।’ पार्टीलाई व्यवस्थित बनाउने, परिमार्जित गर्ने र बदलिएको समयअनुसारको दल बनाउने काममा आफूहरू विषय प्रवेश गरिसकेको पनि उनले बताएका छन ।
उनले भने, ‘निर्वाचन आयोगबाट टुंगो लागेर, सम्मानित सर्वोच्च अदालतबाट पनि टुंगो लागिसकेर नेपाली कांग्रेस आफ्नो महाधिवेशनतर्फ अगाडि बढेको छ ।’ शर्माले पार्टीका अग्रह नेताहरूलाई सँगसँगै लिएर जानुपर्ने र सँगसँगै लैजाने विषयमा आफूहरू गम्भीर र जिम्मेवार प्रयासमा रहेको पनि बताएका छन ।
‘हामीहरूहरू के कुरामा गम्भीर र जिम्मेवार प्रयासमा छौं भने हाम्रो उमेर जति राजनीति गरिसक्नुभएका थुप्रै अग्रजहरू हुनुहुन्छ,’ उनले भने, ‘जसलाई सँगसँगै लिएर जानु जरूरी छ । र, हामी लिएर जाने प्रक्रियामा छौं, लिएर जान्छौं ।’
उपसभापति शर्माले प्रतिनिधिसभामा कांग्रेसको भूमिका संयमित, परिपक्व खबरदारीपूर्ण ढंगले रहने पनि बताए । ‘संसदमा नेपाली कांग्रेसको भूमिका संयमित, परिपक्व खबरदारीपूर्ण ढंगले रहन्छ,’ उनले भने ।