बुटवलमा स्कुटर दुर्घटना: दुई युवतीको मृत्यु, चालक गम्भीर घाइते

काठमाण्डु टुडे २०८३ वैशाख १६ गते ८:२२ मा प्रकाशित

बुटवल, १६ वैशाख- बुटवलमा तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको छ ।

पाल्पाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु३४ प५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भई पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका–७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका–११, कालिकानगरकी १८ वर्षीया पूर्णीमा मगरको ज्यान गएको हो ।
मंगलबार साँझ करिब ७ बजे बुटवल–१३ स्थित भ्यूटावर नजिक भएको उक्त दुर्घटनामा स्कुटर सडकबाट करिब ३० मिटर तल खसेको थियो। गम्भीर घाइते दुवै युवतीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक बाणगंगा–७, बनगाईका सोमन श्रेष्ठ गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थमन बिसीका अनुसार स्कुटरमा तीन जना सवार भएकाले नियन्त्रण गुम्दा दुर्घटना भएको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us