काठमाण्डू, १४ वैशाख– प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् छलेर अध्यादेश ल्याउने कुरा उपयुक्त नहुने बताएको छ । आज (सोमबार) बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसले यस्तो बताएका हुन ।
उनले सरकारले संसद्को अधिवेशनबीना जानकारी फेरि स्थगित गरेर अध्यादेशको बाटो रोज्न खोजेको आशङ्का समेत व्यक्त गरेका छन । प्रवक्ता चालिसेले भने, ‘सरकारले प्रस्ताव गरेर संसद्को अधिवेशन बोलाइसकेपछि अकारण फेरि संसद् पुनः स्थापित भएको हामीले समाचार पायौँ ।
एकातिर संसद् बोलाएको संसद् स्थगित गर्ने, अर्कोतर्फ संसद्लाई छलेर अध्यादेशहरू ल्याउन कदम लोकतन्त्रको लागि मर्यादित होइन । त्यो अनुकूलता त्यसले प्रदान गर्दैन, जवाफदेहिता स्थापित गर्दैन ।’ उनले सरकारले संसद् छलेर अध्यादेश ल्याए संसद्को सर्वोच्चतालाई अवमूल्यन गर्ने पनि बताएका छन । उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘जनताको चुलो, सामान्य नागरिकहरूको दैनिक जीवन प्रभावित भएको अवस्थामा सरकारले नागरिकहरूको प्रतिको दायित्वलाई महसुस गर्दै बजारमा रहेका कृत्रिम अभाव र मूल्य वृद्धि भने पनि यसलाई कडाइका साथ अनुगमन गर्ने, जनताको जीवनलाई सहजता प्रदान गर्ने कुरामा सरकारको ध्यानाकर्षण हामी गराउन चाहन्छौँ।’