सेवाग्राहीको भुक्तानी रोक्दै घुस असुलेका सिचाइ डिभिजन प्रमुख क्वार्टरबाटै पक्राउ

काठमाण्डु टुडे २०८३ साउन ९ गते ११:३४ मा प्रकाशित

सर्लाही– निर्माण सम्पन्न भइसकेको योजनाको भुक्तानी प्रक्रिया रोकेर सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन सर्लाहीका डिभिजन प्रमुख र एक मेकानिकल अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

आयोगका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी निकासा गर्न अनावश्यक अड्चन सिर्जना गर्दै रकम मागिएको भन्ने उजुरी प्राप्त भएपछि निगरानी बढाइएको थियो ।

त्यसपछि गरिएको अपरेसनमा डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट घुसबापत लिइएको ७ लाख ५० हजार रुपैयाँसमेत बरामद भएको अख्तियारले जनाएको छ ।

साथै, स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ नगद र तीन थान मोबाइल फोन समेत बरामद गरिएको छ ।

अख्तियारले भ्रष्टाचारसम्बन्धी कसुरमा थप कारबाही अघि बढाएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us