जिल्ला अदालत मोरङले अझै भेटेन विचाराधीन ५० मुद्दाको मिसिल

काठमाण्डु टुडे २०८३ वैशाख १४ गते १२:१५ मा प्रकाशित

काठमाण्डू, १४ वैशाख– जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत मोरङमा आगजनी गरिएका विचाराधीन मुद्दाको अधिकांश मिसिल संकलन भएको छ । तर ५० वटा मिसिल अझै फेला पर्न सकेको छैन ।

जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालका अनुसार आगजनीको समयमा अदालतमा रहेका १ हजार ४१ वटा विचाराधीन मुद्दाको मिसिल जलेका थिया । तीमध्ये विभिन्न स्रोतको सहयोगमा ९ सय ९१ मिसिल संकलन भइसकेका छन् ।

अदालतको आफ्नै अभिलेख जलेर नष्ट भएपछि कानुन व्यवसायी, सरकारी वकिलको कार्यालय र अन्य सरोकारवाला निकायहरूको सहयोगमा मिसिल संकलन गरेको हो ।

उनका अनुसार चालु अवस्थाका ५० वटा मुद्दाको मिसिल अझै प्राप्त भएको छैन । भदौ २४ सम्म फैसला भइसकेको तर फैसला लेख्न बाँकी रहेका ७८ वटा मिसिलमध्ये ७५ वटा प्राप्त भएको छ ।

फैसला लेख्न बाँकी ३ वटा मिसिलको विवरण अझै प्राप्त भएको छैन । न्यायाधीश भुषालका अदालतको अभिलेख शाखामा रहेका करिब १ लाख २५ हजार थान मिसिलहरू जलेर नष्ट भएका थिए ।

तीमध्ये २ हजार ५ सय ४८ वटा मिसिल संकलन गरिएको छ । अदालतको फैसला कार्यान्वयन गर्ने जिम्मा पाएको तहसिल शाखामा रहेका १ हजार ७ सय मिसिल जलेका थियो । तीमध्ये १ हजार ३ सय ५९ मिसिल संकलन भएको छ । ३ सय ४१ मिसिल संकलन हुन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us