काठमाण्डू, १३ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञाबहादुर शाहीले सरकारलाई संसदबाट नभागेर विधायकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्न अनुरोध गरेका छन ।
आज (आइतबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो आग्रह गरेका हुन । उनले सरकारले कानून निर्माणभन्दा अध्यादेशमार्फत शासन चलाउने प्रयास गरे गम्भीर राजनीतिक परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन । उनले भने, ‘ऐन बनाउने त संसदले होला नि । अध्यादेश ल्याउँछु भनेर ठान्नुभएको होला त्यसो गर्यो भने केपी ओलीको हालत हुन्छ ।
संसद हुँदाहुँदै अध्यादेशबाट काम थालनी नगर्नुस् ।’ पार्टीका प्रवक्तासमेत रहेका शाहीले संसद जनताको आवाज बोल्ने थलो र सरकार त्यसको कार्यान्वयन गर्ने संयन्त्र भएको उल्लेख गर्दै सरकार बलियो हुँदा संसदको आवश्यकता अझ बढी हुने बताए ।
उनले सुकुमवासी समस्या, भूमिसुधार ऐनको अड्किएको अवस्था तथा भूमि व्यवस्थापनजस्ता विषय संसदबाटै कानुन बनाएर समाधान खोज्नुपर्ने पनि बताएका छन । उनले भने, ‘जब सरकार बलियो हुन्छ तब संसदको आवश्यकता झन् ठहरिन्छ । किनकी हामी प्रजातान्त्रिक अभ्यासमा छौं । कानुन बनाउनुपर्ने छ ।
अहिले सुकुमवासीको समस्या छ, अहिले कानुन नबनाइकन सुकुम्बासीको व्यवस्थापन गर्न सक्नुहुन्छ ? अहिले अड्केको भूमिसुधार ऐनले होइन रु अनि भूमिसुधार ऐन कसले बनाउने हो रु रास्वपाको सरकारले बनाउने हो कि सरकारले बनाउने हो ?’
अन्तरसरकारी समन्वयो अभावका कारण संघ सरकारले गर्ने कतिपय निर्णयहरु प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने नगरेको भन्दै यस विषयमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।
‘संसद् चलाउनुहोस् । संसदबाट नभाग्नुहोस् । संसद् भनेको जनताको आवाज बोल्ने थलो हो भने सरकार त्यसको कार्यान्वयन गर्ने हो,’ उनले भनेका छन् ।