रावण बधका क्रममा भागदौड मच्चिँदा ३२ को मृत्यु

काठमाण्डु टुडे २०७१ असोज १८ गते ५:५८ मा प्रकाशित

एजेन्सी- भारतको पटनास्थित गान्धी मैदानमा नवरात्रको अवसरमा गरिने रावण वधका क्रममा भागदौड मच्चिँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । भागदौडमा एक सया जनाभन्दा बढी घाइते भएका छन् ।
शुक्रबार साँझ सात बजे ५० हजारभन्दा बढीको रावण वध हेर्न भेला भएको बेला बिजुलीको तारमा स्पार्क हुंदा चर्को आवाज आएपछि बम हमला भएको आशंकामा त्यहाँ रहेको एउटा मात्र गेटबाट बाहिरिने क्रममा किचिएर उनीहरुको मृत्यु भएको बताइएको छ ।

मर्नेहरुमा अधिकांश महिला र बालबालिका छन् । पटना सरकारले मृतकको परिवारका लागि दुई दुई लाख र घाइतेका लागि ५० हजारको राहत घोषणा गरेको छ । भागदौडमा त्यति धेरै नागरिकको निधन भएलगत्तै सरकारले घटनाको छानबिन गर्न आदेश दिएको छ ।

भारतभर कम्तीमा ५० स्थानमा विशेष समारोहबीच रावण बध कार्यक्रम भएको थियो । दिल्लीको सुभास मैदानमा भएको विशेष समारोहमा राष्टपति उपराष्टपति प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीको समेत उपस्थिति रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us