काठमाण्डू, २२ चैत– कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेबाट बलात्कृत भएको भन्दै सामाजिक सञ्जाल (फेसबुक)मा लामो स्ट्याटस लेखेकी थिइन् ।
सो स्ट्याटसको आधारमा पक्राउ परेका बले विरुद्ध बलात्कारको जाहेरी नै नपरेको हो । कलाकार लम्साल विरुद्ध पीडितको तर्फबाट जाहेरी नआएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जानकारी दिएका छन ।
उनले भने, ‘संवेदनशील विषयमा प्रश्न उठेपछि पक्राउ गरिएको हो, तत्काल उहाँलाई होल्ड गरेर अनुसन्धान गर्छौँ ।’ जाहेर नआउन्जेल प्रहरीले उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा राख्ने तयारी गरेको छ । उनलाई तत्काल थुनामुक्त नगर्ने र आरोप लागेको विषयमा अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।