ओलीको बयानः ‘भिडमा बल प्रयोग गर्ने निर्णय जिल्ला तहबाटै हुन्छ’

काठमाण्डु टुडे २०८२ चैत २० गते १४:५९ मा प्रकाशित

काठमाण्डू, २० चैत– एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुसन्धान अधिकृतहरूले बयान लिएका छन् । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पतालमा प्रहरीको घेरामा उपचाररत रहेका छन । अनुसन्धान अधिकृत र अभियोजनकर्ता सरकारी वकिलले अस्पतालमै ओलीसँग बयान लिएका हुन् ।

ओलीसँगको बयान पूरा भएको स्रोतले जानकारी दिएको छ । अनुसन्धान अधिकृतहरूले ओलीलाई ३५ भन्दा धेरै प्रश्न गरेका छन् । उनले भदौ २३ मा काठमाण्डूको बानेश्वरमा किशोरहरूको मृत्यु हुनेगरी लेथल हतियारबाट गोली चलाउने आदेश आफूले दिएको अस्वीकार गरेका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार ओलीले बयानमा भनेका छन्, ‘हुलदङ्गा नियन्त्रणमा लेथल हतियारबाट गोली चलाउने आदेश मैले दिएको होइन, त्यो जिल्ला तहबाटै हुने कुरा हो ।’

जेनजी आन्दोलनबारे भदौ २२ मा राति सुरक्षा निकायसँग छलफल गरेको बताउँदै ओलीले त्यसबेला आफूलाई ‘६–७ हजार जेनजी भेला हुने र प्रदर्शन शान्तिपूर्ण हुने’ भनेर ब्रिफिङ गरिएको जिकिर गरेका छन् ।

बयानमा ओलीले भनेका छन्, ‘सुरक्षा प्रमुखहरूसँग छलफल हुँदा शान्ति सुरक्षा मिलाउनु भनेको थिएँ ।’ हुलदङ्गा नियन्त्रण गर्दा हताहती हुन नदिन प्रधानमन्त्रीको हिसाबले निर्देशन दिइएको ओलीले बयानमा बताएका छन् ।

बल प्रयोगको विषय प्रधानमन्त्रीको कार्यक्षेत्रमा नपर्ने उल्लेख गर्दै ओलीले भनेका छन्, ‘कम क्षति हुनेगरी गर्नु भनेको हो, बल प्रयोग गर्ने निर्णय मेरो विषय नै होइन ।’ बिहीबार राति १२ बजेतिर ओलीसँगको बयान पुरा भएको काठमाण्डू जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us