सभामुखमा निर्वाचित भए संविधान र कानुनअनुसार न्यायसम्मत काम गर्छुः डीपी अर्याल

काठमाण्डु टुडे २०८२ चैत २० गते १४:२० मा प्रकाशित

काठमाण्डू, २० चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुखमा निर्वाचित भएमा नेपालको संविधान र कानुनको परिधिभित्र रहेर न्यायसम्मत काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

आज (शुक्रबार) सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति अर्यालले यस्तो बताएका हुन । उनले आफूले पाउने जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गर्ने समेत बताएका छन ।

अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै व्यवस्थापिकाको गरिमालाई उच्च राख्ने समेत बताएका छन । उपसभापति आर्यलले आफ्नो उम्मेदवारी नेपाली जनताको हित र राष्ट्रियताको संरक्षणका लागि भएको स्पष्ट पारे । उनले भने, ‘मैले जुन जिम्मेवारी पाउँदै छु, यो निर्णय अझ यसको काम बाँकी नै छ प्रक्रियामा छ ।

त्यसकारणले प्रक्रिया सकिएर मैले त्यो जिम्मेवारीमा पुगेँ भने नेपालको संविधान, नेपालको कानुन, नेपाली जनताको हितमा, यो राष्ट्र र राष्ट्रियताको हितमा व्यवस्थापकीय जुन हाम्रो व्यवस्थापिका छ, हामी कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको जुन विषय छ, त्यसमा व्यवस्थापिकाले गर्नुपर्ने काम न्यायसम्मत मैले गर्नेछु ।’

सभामुखको निर्वाचन प्रक्रिया अघि बढिरहेको सन्दर्भमा रास्वपाले आफ्नो तर्फबाट उपसभापति अर्याललाई अघि सारेको हो । अर्यालले आफ्नो कार्यकालमा व्यवस्थापकीय कार्यहरुलाई पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us