३४ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, साढे १८ महिनाको आयात धान्ने

काठमाण्डु टुडे २०८२ चैत १९ गते १८:२१ मा प्रकाशित

काठमाण्डू, १९ चैत– नेपालको विदेशी विनिमय सञ्चितिले नयाँ उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति बढेर ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको हो ।

०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६४ करोड रहेको यस्तो सञ्चिति आठ महिनाको अवधिमै २७.५ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा पनि सञ्चितिमा ठुलो उछाल आएको छ । असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति १८.३ प्रतिशतले बढेर फागुन मसान्तसम्ममा २३ अर्ब ८ करोड डलर पुगेको छ ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३० खर्ब ३५ अर्ब ११ करोड रहेको छ, जुन असारको तुलनामा २५.७ प्रतिशतले बढी हो । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूसँग ३ खर्ब ७८ अर्ब ६६ करोड विदेशी मुद्रा सञ्चिति रहेको छ ।

कुल सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ । सञ्चिति पर्याप्तता सूचकका आधारमा नेपालको अर्थतन्त्र हालसम्मकै सर्वाधिक सुरक्षित अवस्थामा पुगेको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैङ्किङ क्षेत्रसँग रहेको यो विदेशी मुद्राले २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने छ।

सामान्यतया ६ देखि ७ महिनाको आयात धान्ने सञ्चितिलाई राम्रो मानिने अन्तर्राष्ट्रिय अभ्यास रहे पनि नेपालसँग साढे १८ महिनाको आयात धान्ने क्षमता हुनुले अर्थतन्त्र निकै बलियो स्थितिमा रहेको प्रस्ट पार्छ ।

फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात ५५.९ प्रतिशत, कुल आयातसँगको अनुपात १५३.४ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपात ४०.८ प्रतिशत रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us