ओली र लेखक पक्राउबारे नेकपाः पूर्वाग्रह राख्ने र द्वन्द्व बढाउने काम नहोस्

काठमाण्डु टुडे २०८२ चैत १४ गते १९:०० मा प्रकाशित

काठमाण्डू, १४ चैत– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एमाले अध्यक्ष केपी ओली र काँग्रेस नेता रमेश लेखकको पक्राउबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालयका तर्फबाट नेता गणेशमान पुनका तर्फबाट शनिबार जारी विज्ञप्तिमा सरकारले कुनै पनि कमद चाल्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन गर्न नहुने उल्लेख छ ।
जेनजी आन्दोलनमा भएको नरसंहारमा दोषी रहेको भन्दै प्रहरीले ओली र लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो ।
‘२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता श्री बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएको र उहाँको नेतृत्वमा मन्त्रिपरिषद गठन भएकोमा हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टी बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै सरकारले मन्त्रिपरिषदको पहिलो बैठकबाट भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उलंघन नगरोस् । राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गर्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us