राजनीतिक नियुक्ति फिर्ता लिन सरकारलाई प्रभु साहको आग्रह

काठमाण्डु टुडे २०८२ चैत २ गते १२:५९ मा प्रकाशित

काठमाण्डू, २ चैत– आम जनता पार्टीका प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकारलाई हालै गरिएका राजनीतिक नियुक्ति सम्बन्धी निर्णय तत्काल फिर्ता लिन अनुरोध गरेका छन ।

आजपा अध्यक्ष साहले आज (सोमबार) आफ्नो फेसबुकमार्फत वक्तव्य जारी गर्दै जेनजी विद्रोहको जगमा बनेको सरकारले आफ्ना आसेपासेलाई राज्यका महत्त्वपूर्ण निकायमा नियुक्त गर्ने निर्णय गर्नु सुशासनको मर्मविपरीत भएको तर्क गरेका छन ।

उनले निर्वाचन सम्पन्न गराएर बहिर्गमनको चरणमा पुगेको सरकारले सुशासन र पारदर्शितामाथि धक्का पुग्ने गरी राजनीतिक नियुक्ति गर्नु निन्दनीय र आपत्तिजनक भएको उल्लेख गरेका छन्। साहले निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएका गृहमन्त्री ओमप्रकाश अर्याल मन्त्रिपरिषद्बाट राष्ट्रियसभामा मनोनयनका लागि सिफारिस हुनु पनि लाजमर्दो विषय भएको समेत बताएका छन ।

त्यसैगरी प्रधानमन्त्री कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई प्रकृति संरक्षण कोष को अध्यक्षमा नियुक्त गर्नु सुशासन र पारदर्शिताको उपहास भएको उनको भनाइ छ ।

यसअघि पनि जेनजी आन्दोलनका शहीद परिवारको नाममा आफ्नै परिवारका सदस्यलाई जागिर खुवाएको आरोप लागेको स्मरण गर्दै साहले यस्तो निर्णयले आन्दोलनको मूल मर्ममाथि नै प्रहार गरेको बताएका छन् ।

अध्यक्ष साहले जेनजी आन्दोलनको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको भए पनि उक्त प्रतिवेदन सार्वजनिक नगरी आफ्ना निकट व्यक्तिहरूलाई राज्यका निकायमा नियुक्त गर्न व्यस्त हुनु लज्जास्पद भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us