संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

काठमाण्डु टुडे २०८२ चैत २ गते ११:२५ मा प्रकाशित

काठमाण्डू, २ चैत– जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन । तर ‘संघर्षको राजनीति’ जारी राख्ने उनले बताएका छन ।

जनमतका अध्यक्ष राउतले भनेका छन, ‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने, ‘म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन ।’

उनले थप लेखेका छन्, ‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु ।’ सिके राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट उदाएको दल हो । त्यसबेला जनमत पार्टी राष्ट्रिय दल बनेको थियो ।

प्रत्यक्षमा अध्यक्ष राउत आफैँले चुनाव जितेका थिए । समानुपातिकतर्फ थ्रेस होल्ड हटाएर जनमत पार्टीले थप पाँच सांसद सिट प्राप्त गरेको थियो । तर, २०८२ फागुन २१ के निर्वाचनमा जनमत पार्टीले एक सिट पनि प्राप्त गर्न सकेन । सप्तरी २ बाट चुनावमा प्रतिस्पर्धा गरेका अध्यक्ष राउत रास्वपाका रामजी यादवसँग पराजित भए ।

जनमत पार्टीका प्रत्यक्षतर्फका अन्य उम्मेदवारले पनि चुनाव जितेनन् । समानुपातिकतर्फ पनि थ्रेसहोल्ड कटेन । अध्यक्ष राउतले अब संसदीय राजनीतिबाट टाढा रहने तर पार्टीलाई आगामी निर्वाचनका लागि तयार गर्नमा लाग्ने बताएका छन् । उनले लेखेका छन्, ‘जनमत पार्टीलाई आउँदो स्थानीय र प्रदेश निर्वाचनका लागि तयारी गराउन प्रतिबद्ध छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us