काठमाण्डू, २१ फागुन– दार्चुलाको दुधिला मावि अपि हिमाल–३ को मतदान केन्द्रमा अहिलेसम्म मतदान नै सुरु भएको छैन । स्थानीय कोही पनि मत हाल्न नआएपछि सुरु हुन नसकेको बताइएको छ ।
यसअघि यहाँका स्थानीयले यहाँका दुई वटा केन्द्रमा मतदानमा सहभागी नहुने निर्णय गरेका थिए । नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय झुस्कुका मतदाताले मतदान नगर्ने निर्णय गरेका हुन् ।
नागुबासीलाई बुधबार पनि सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल पुगेर छलफल गरे पनि उनीहरू मत नहाल्नेमा अडिग रहे ।
नागु विकास संघर्ष समितिसँग छलफल गर्न धनगढीबाट नेपाली सेनाको हेलिकप्टर चढेर अर्याल बुधबार दिउँसो नागु पुगेका थिए । माघ १ गतेबाटै संघर्ष समिति बनाएर नो भोटका पक्षमा उभिएका नागुबासीले योपटकको निर्वाचनमा मतदान नगर्ने निर्णय यथावत राखेको संघर्ष समितिका संयोजक करनसिह डडालले जानकारी दिएका छन ।