चुनावमा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाण्डु टुडे २०८२ फागुन २० गते १६:०३ मा प्रकाशित

काठमाण्डू, २० फागुन– भोली हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीको पर्सा गाउँपालिका–४, जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका रघुनाथ महतो मङ्गलबार अचानक बेहोस भए ।

रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब महतोलाई निर्वाचनमा खटिएका सहकर्मीहरूले अस्पताल पुर्‍याए । प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा उनको निधन भयो । महतो रौतहटको माधव नारायण नगरपालिका–६ का बासिन्दा हुन् ।

उनी सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबको रूपमा कार्यरत रहेका थिए । उनको शव प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ । उनको मृत्युको कारण खुलेको छैन । कञ्चनपुरमा फागुन १८ मा राति खाना पकाउँदा निर्वाचन प्रहरी मानसिंह राना अचेत भए ।

पुनर्वास नगरपालिका–९ स्थित सीता बस्तीमा रहेको जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका ३५ वर्षीय मानसिंह रानाको धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीले बताए । उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित रहेका थिए ।

बैतडीमा १ महिनाको अवधिमा ३ जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट, ३८ वर्षीय महादेव वड र ३२ वर्षीय प्रकाश चन्द रहेका छन । दशरथचन्द नगरपालिका–३ घर भएका चन्दको निर्वाचन सुरक्षाको ड्युटी सकेर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । अरू दुई जना अचेत भएर ढलेका र उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता ९डीआईजी० अबि नारायण काफ्लेले जानकारी दिएका छन ।

काफ्लेका अनुसार प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिएका ११ जना निर्वाचन प्रहरी र दुर्घटनामा परेर एक जना प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ ।

फागुन १८ मा रामेछापको रामेछापमा नगरपालिका–२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी दुर्घटना हुँदा असई पर्शुराम यादवको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमपछि गृहजिल्ला सप्तरीको रुपनी गाउँपालिका–१ मा पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

४० दिन सरकारी सेवा गर्न भनेर भर्ना भएका ११ जना निर्वाचन प्रहरीले निर्वाचन सुरक्षाको दौरानमा ज्यान गुमाएका छन् । रुपन्देहीमा १ जना, बारामा २ जना, महोत्तरीमा १ जना र नवलपरासीमा १ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । फागुन १८ मा मकवानपुरमा गाडीको ठक्करबाट २४ वर्षीय पवन कुमार शाहको मृत्यु भयो ।

उनी निर्वाचन प्रहरी हुन् । रौतहट घर भएका शाह इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खटिएका थिए । रामेछापमा गाडी दुर्घटना हुँदा मतदान गराउन जाँदै गरेका मतदान अधिकृत ५७ वर्षीय डोर प्रसाद घिमिरेको मृत्यु भयो ।

उनी मन्थलीबाट मतपत्र लिएर सितलदेवी मावी सिरुवारी र रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवन जाँदै थिए । मृतक घिमिरे मन्थली नगरपालिका–१ स्थित भैंसेश्वर बस्दै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us