तस्बिर सौजन्यः रेडियो मालश्री रोल्पा
रोल्पा, १८ फागुन– रोल्पामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच चुनावी तालमेलको प्रयास भएको छ ।
एमाले उम्मेदवार गोकुल घर्ती र रास्वपा उम्मेदवार बालराम थापाबीच सोमबार राति मिलेर जाने विषयमा वार्ता भएको हो ।
घर्ती र थापाले रोल्पा नगरपालिका–२ पिपलचौतारास्थित एमाले जिल्ला नेता घनश्याम आचार्यको घरमा राति ९ देखि ११ बजेसम्म वार्ता गरेका थिए । यद्यपि एकले अर्कालाई सघाउनुपर्ने अडान राखेका कारण सहमति भने हुन नसकेको एमालेका एक नेताले बताए ।
‘रोल्पामा रास्वपाभन्दा हामी अगाडि छौं । त्यसैले सहयोग गर्न हामीले भन्यौं । उहाँले आफूलाई सघाउन भन्नुभयो । कुरा मिलेन’, ती नेताले भने ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रोल्पा संयोजक रेमश पुन ‘चट्याङ’ ले आफूहरुविरुद्ध एमाले र रास्वपाले तालमेल प्रयास गरेको बताए । ‘तै पनि सकिन्छ कि भन्ने प्रयासमा उहाँहरु हुनुहुन्छ’, पुनले भने, ‘रोल्पामा बाँकी सबै दल मिले पनि हामीलाई हराउन सम्भव छैन ।’ नेकपाबाट पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त उम्मेदवार छन् ।
देशभर रास्वपा र एमालेबीच सत्रुतापूर्ण प्रतिस्पर्धा भए पनि रोल्पामा नदीका दुई किनाराजस्ता पार्टीका उम्मेदवार मिल्न खोज्नु आश्चर्यको विषय भएको पुनले बताए ।