कांग्रेसको आन्तरिक विश्लेषणः प्रत्यक्षमा ६० बढी सिट जित्ने दाबी

काठमाण्डु टुडे २०८२ फागुन १८ गते १६:३० मा प्रकाशित

काठमाण्डू, १८ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा ६० बढी सिट जित्ने आन्तरिक विश्लेषण गरेको छ । समानुपातिकमा पनि ३५ सिट जति जित्ने कांग्रेसको अनुमान छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले सय पार पुर्याउने आफूहरूको लक्ष्य सफलताको नजिक पुगेको जानकारी दिए । ‘हामीले अबकी बार सय पारको नारा बनाएका छौँ, त्यो लक्ष्य पूरा हुने अवस्थाको हामी नजिक नजिक पुगेका छौँ,’ प्रवक्ता चालिसेले भने, ‘आज (सोमबार) पार्टीका साथीहरू सम्हाल्न सकेमा लक्ष्य भेटाउन सकिने अवस्था छ ।’

गत पुसमा गरेको विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद छ । त्यो विवादका कारण निवर्तमान सभापति शेरबहादुर देउवा, नेताहरू पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. आरजु राणा देउवा चुनावी प्रचार प्रसारमा निस्किएका छैनन् ।

देउवा समूहले आधिकारिकताको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ । त्यसले केही समस्या पार्छ कि भन्ने डर कांग्रेसलाई छ ।

यसैबारे संकेत गर्दै प्रवक्ता चालिसेले भने, ‘हामीलाई आन्तरिक मिलाउन गाह्रो भइरहेको छ । त्यो मिल्यो भने लक्ष्य भेटाउँछौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us