झापा र सर्लाहीमा विशेष सुरक्षा, सादा पोशाकका प्रहरी परिचालन

काठमाण्डु टुडे २०८२ फागुन १८ गते १३:५९ मा प्रकाशित

काठमाण्डू, १८ फागुन– चुनावी हटस्पटको रूपमा हेरिएका झापा–५ र सर्लाही–४ मा विशेष सुरक्षा अपनाइएको छ । हेभिवेट भिडन्त र आफ्ना दलले प्रधानमन्त्रीको उम्मेदवार बनाएर अघि सारेका व्यक्तिबीचको भिडन्तले यी दुई क्षेत्रमा सबैभन्दा बढी सुरक्षा चुनौती थपिएको छ ।

जसकारण अहिले झापा र सर्लाहीमा विशेष सुरक्षा रणनीति अपनाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । यी दुवै क्षेत्रमा केही घटना हुनसक्ने विश्लेषणसहित थप प्रहरी खटाउनेदेखि सूचना संकलनका लागि सादा पोशाकका प्रहरी पनि परिचालन गरिएको छ ।

प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्ययमबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समेत आइतबार मातहतका प्रहरी युनिटहरूलाई निर्देशन दिँदै विशेष ध्यान दिन निर्देशन दिएका थिए । अहिले झापा र सर्लाहीमा सादा पोशकमा सूचना संकलनका लागि पनि पर्याप्त मात्रामा प्रहरी खटाइएको छ ।

नेपाल प्रहरीको निर्वाचन सुरक्षा विश्लेषण महाशाखाले सूचना संकलन गरेर महानिरीक्षक कार्कीलाई ब्रिफिङ गराएको छ । त्यसपछि कार्कीले उच्च सतर्कता अपनाउनले यस क्षेत्रका प्रहरीलाई विशेष निर्देशन दिएको स्रोतले जानकारी दिएको छ । यी दुई क्षेत्रमा उच्च सुरक्षा ‘थ्रेट’ रहेको निष्कर्ष निकाले थप प्रहरी टोली समेत परिचालन गरिएको छ ।

अहिले थप मद्दतका लागि भन्दै झापामा मात्रै २२ जना सिनियर प्रहरी अधिकृत, अन्य दर्जाका प्रहरी ७५५ गरी ७७८ जना खटाइएको छ ।

यो बाहेक प्रहरी मातहत नै रहने गरी निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र निर्वाचन प्रहरी र नेपाली सेनाको टोली पनि परिचालन छ । त्यस्तै थप मद्दतका लागि भन्दै सर्लाहीमा मात्रै सिनियर प्रहरी अधिकृत मात्रै २५ जना खटाइएको छ ।

जुनियर प्रहरी अधिकृत ११९ जना र अन्य दर्जाका प्रहरी ६४८ जना गरी ७९२ जना खटाइएको छ । यो नेपाल प्रहरीको मात्रै संख्या हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us